रारालिही बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरीलाई सास्ती

जुम्ला | फागुन १६, २०८१

रारालिही बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरीलाई सास्ती

जुम्ला: जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर करिब १० महिनादेखि बन्द हुँदा सुत्केरीलाई समस्या भएको छ ।

    
चार महिनाभित्र बर्थिङ सेन्टरको भवन निर्माण गर्ने भन्दै सेवा बन्द गरिएको थियो । अहिले नयाँ भवन निर्माण सम्पन्न भइसके पनि सञ्चालनमा नआउँदा स्थानीय सुत्केरीलाई उपचारमा समस्या हुँदै आएको हो ।

    
बर्थिङ सेन्टरभित्र आवश्यक पर्ने तातो, चिसो पानी र विद्युत्को लाइन जोड्ने काम ढिलो हुँदा सेवा प्रवाह बन्द भएको तिला–२ का वडाध्यक्ष चन्द्र बोहोराले बताउनुभयो । उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न भइसकेको भन्दै केही साताभित्र विद्युत्को लाइन जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 

    
“बर्थिङ सेन्टरलाई आवश्यक पर्ने स्रोतसाधन र बजेटको व्यवस्थापन नहुँदा सञ्चालनमा समस्या भएको हो । यहाँबाट उपलब्ध सेवा बन्द भएपछि तिलाका–१ र २ वडाका स्थानीयलाई सास्ती भइरहेको छ”, उहाँले भन्नुभयो ।

    
तत्काल बर्थिङ सेन्टर सञ्चालन गरी स्वास्थ्य सेवा सहज बनाउन सम्बन्धित वडालाई परिपत्र गरिएको गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । “उक्त सेन्टर सञ्चालनमा ल्याउन निरन्तर पहल गरिरहेका छौँ । अहिले पालिकाको एम्बुलेन्सले सुत्केरीलाई निःशुल्क रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने र पुर्‍याउने गरिरहेको छ”, उहाँले भन्नुभयो ।

    
अहिले प्रसूति हुने सबैलाई पालिकाको कुडारी स्वास्थ्य चौकी र सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रबन्ध गर्नुपर्दा धेरै खर्च हुने गरेको यहाँका स्थानीयलले गुनासो गरेका छन् ।

    
रारालिही स्वास्थ्य चौकीका अधिकृत हिमाली खत्रीका अनुसार बर्थिङ सेन्टरका लागि नयाँ भवन निर्माण सम्पन्न भइसकेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो । यसअघि यहाँ तालिमप्राप्त दक्ष प्रसूतिकर्मीबाट सेवा सञ्चालन हुँदै आएको थियो । गत आर्थिक वर्षमा २२ जनाले सुत्केरी सेवा लिएका जनाउँदै उहाँले चालु आवमा कसैले पनि सेवा नलिएका बताउनुभयो ।

    
पुरानो र जीर्ण भवनबाट लामो सयमसम्म सेवा दिएको बर्थिङ सेन्टरको सुविधासम्पन्न भवन निर्माणका लागि सेवा बन्द गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हर्क रावतले बताउनुभयो । 

    
यहाँबाट दिइने सेवा बन्द भएपछि गर्भवती र सुत्केरीले सास्ती खेप्नुपरेको तिला–१ वडाध्यक्ष जङ्गबहादुर बस्नेतको भनाइ छ । उहाँका अनुसार गत वर्षको जेठदेखि चालु आवको हालसम्म बर्थिङ सेन्टर बन्द हुँदा यहाँका सेवाग्राही प्रसूति सेवाका लागि सदरमुकाम र बाहिर जान बाध्य भएका छन् ।

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्

पोखरा:   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

थप पढ्नुहोस्